in stories

नौलो क्रान्ति-1

This story is again from long time back,when the conflict was in its climax.This is written for a special purpose..it is more a development story(rather than pure literary)..So..Please enjoy..and I will complete it in another episode)

 

बस रोकिन्छ ।ऊ ओर्लिन्छ । दुवै आ-आफ्नै गन्तब्यतिर लाग्छन । ऊ अनि बस । उनीहरु छुट्‌टीदाखेरी बीचमा एउटा साठी डिग्रीको कोण बन्छ ।

छ बजेछ । आठबजे त घर कसो नपुगिएला । तेतिबेला भान्सा उठिसकेको हुनेछ । केहि छैन, गुन्द्रुक जिन्दावाद । मुग्लिनको सोडा हालेको भातलाई पनि धन्यवाद, अहिलेसम्म भोक लागेको छैन । फेरि ऊ घरिघरि भोक लागिरहने मान्छे पनि होइन किनकी ऊ खानका लागी बाँच्दैन । गाडी डिजेल खानकालागी गुड्छ र ? ऊ अगि आएको मिनीबस तल घुम्तीमा पुगिसकेछ ।

आजको यो उकालो सातवर्ष अगाडि ऊ काठमान्डु जानलाग्दा ओरालो थियो । एउटै बाटो कहिले उकाली त कहिले ओराली बनेर तेर्सिदिन्छ । अचम्म । जिवनपनि यस्तै हो । यसबिचमा आँधीखोलामा निकै पानी बग्यो र रगत पनि । बाग्मतीमा ढल बगेझैं । भैगो, यो सब समयको खेल हो ।

ऊ आज गाउँ फर्किएको छ । केहि ज्ञान,अनुभव र एउटा नौलो क्रान्तिको सोच लिएर। क्रान्तिको नाम सुन्ने वित्तिकै झस्कनेहरु धेरै छन यहाँ । क्रान्ति भनेको बन्दुक, ढुंगामुढा, पार्टीको झण्डा या अराजकता होईन भनेर उनीहरुलाई बुझाउन निकै गाह्रो पर्नेछ उसलाई । तर त्यो असंभव छैन ।

ब्यक्तिगत, आर्थिक र शैक्षिक उन्नतिलाई जिन्दगीको प्रमुख मुद्दा बनाएर देशभरीका लाखौं यूवाहरु काठमान्डु भासिए । विदेश जानेहरुको त झन् कुरै नगरौं । उनीहरु पद र पैसाका लागी बाँचे । तर ऊ केहि अलग किसिमले,केहि अलग प्रयोजनका लागी बाँच्न चाहन्छ । त्यसैले, आफ्ना प्रत्येक जिजीविषालाई स्वाभिमानी र सार्थक तुल्याउन ऊ आज गाउँ फर्कदैं छ। काठमान्डुका लागी ऊ बोझ थियो, गाउँका लागी खाँचो ।

ऊ निकै रोएकी थिई उसले गाउँले फर्कने निर्णय लिंदा । अँ ऊ को भने; उसकी साथी भन्दा थोरै बढि र प्रेमिका भन्दा थोरै कम । यस्तो नाताको कुनै परिभाषा छैन । प्रस्ताव नराखेको होईन उसले । तर जतिसुकै गहिरो प्रेमको बाचा हालेपनि यो पहाडी पाखोमा आएर एउटा सामान्य जिन्दगी बिताउन तयार भइन् ऊ । केही छैन, प्रेमलाई त्यति पनि लम्ब्याउनुहुदैन ताकि त्यो पट्यारलाग्दो बनोस् । आखिर प्रेम कुनै अंकुश हैन । यो रक्तपातमा के? मर्न जाने गाउँमा? उसले तर्क राखेकी थिई। तर खोक्रो ।पलायनवादीको आक्षेप लगाउन पनि भ्याई उसले । मोरी! कस्ती घमण्डी ।

उसलाई सबै थाहा छ । उसको मात्र हैन देशभरीका गाउँहरु हिंसा ग्रस्त छन् । र यो हिंसा गतिलो बहाना बनेको छ गाउँको माया मार्नेहरुका लागी । त्यसैले गाउँलाई अहिले उसको खाँचो छ उ जस्ताको खाँचो छ । बर्षभरी श्रम र पसिना अन्तै बगाएर चाडबाडका बेला पाहुना लाग्न आउनेहरुको हैन, यहिंको ढुंगा माटो सँग रमाउनेहरुको खाँचो छ गाउँलाई । काल्पनिक स्वप्नराज्यको हौवा देखाएर भकारी र ढुकुटी लुट्नेहरुको हैन, केटाकेटीलाई डोराएर स्कुल र बुढाबुढीलाई बोकेर स्वाश्थ्यचौकी लैजानेहरुको खाँचो छ गाउँलाई ।

अन्याय, अत्याचार, आतंक र अभाव कहाँ छैन?काठमान्डु त कुन स्वर्ग थियो र ?  के गरेन वा के सहेन उसले काठमान्डुमा? सातवर्षमा तीन ठाउँमा कोठा सर्यो, चार ठाउँ काम गर्यो । एक बाल्टिन पानी या एक लिटर मट्टीतेलका लागी गल्ली गल्ली चाहार्यो । घण्टौ कुर्यो । तलवका लागी हाकिमका घरघरै धेरै धायो । घरधनि र उधारो खाएका पसलका साहुजीका आखाँ धेरै छल्यो । छिंडीको कोठा, बाथरुमको गन्ध, स्टोभको घ्यार घ्यार अनि पच्चिस वाटको चिम । बिहान क्याम्पस दिउँसो काम । क्याम्पसमा पढाई भन्दा बढी राजनिति । पाँचवर्षमा सकिने स्नातक तह पास गर्न सात वर्ष लाग्यो । संघर्ष के हो कसैले उसलाई सोधोस । र पनि उ मक्ख छ । कम्तिमा पनि संघर्ष गर्ने मौका पाउनु सानोकुरा हैन । संघर्षमै त छ जिन्दगीको वास्तविक मज्जा ।

ईस.. ठेस लाग्यो । लौ देउराली आईसकेछ । पूर्णिमाको रात, टर्च चाहिएन ठिकै भयो । देउरालीको थानमा स्याउला र पाती चढाएर उसले हिंडाईको गतिलाई अझै बढाउँछ ।अँध्यारै भएपनि बडो सचेत भएर हिड्दै छ ऊ । बाटो वरिपरिका लज्जावती झार र बुकी फूल कुल्चदै हिड्न सुहाउँदैन उसलाई यो उमेरमा आएर । यूवा हो ऊ आखिर यो देशको । बाटो बिराउनु हुदैन । यो आकाश, यो बतास, यो रुख, यो शितलता, यो स्वच्छता, यो स्वछन्दता । एकैछिन उसले काठमान्डुलाई बिर्सन्छ जसले उसलाई सास फेर्न स्वच्छ हावा र पिउन सफा पानी सम्म पनि दिन सकेन ।

माटाकै भएपनि गाउँमा उसको एउटा स्यानो घर छ । आफ्ना मान्छेहरु छन् । खेतभरी धान गहूँ र आलु छ । करेसाबारीभरी साग, सिमी, लसुन र अदुवा छ । गोठभरी भैंसी, बाख्रा र कुखुरा छन । पाखाभरी सुन्तला र अमलाका दानाहरु लटरम्म छन ।अझै नयाँ सीप, प्रविधि र बाली भित्र्याउन सकिन्छ । दशनङ्ग्रा खियाए कम्तिमा पनि यहाँ भोकै मर्नुपर्दैन । किन धाईरहनुपर्यो अरब या अमेरिका? आखिर पैसाले कसलाई पुगेको छ र?

फेरि पनि उ सम्झन्छ; अन्याय, अत्याचार, आतंक र अभाव कहाँ छैन? परदेशमा बसेर जलेको गाउँ सम्झी गोहीका आँशु झार्नुभन्दा त यही आएर यो आगोमा होमिनु बेश । गाउँलाई अन्याय, आतंक र अभावमुक्त गराउनु आजको चुनौति हो, समयको माग हो । नत्र हामीलाई आगामी पुस्ताले धिक्कार्नेछ, अघिल्लो पुस्ताले सराप्नेछ । त्यसैले उसले आज एउटा नौलो क्रान्तीको सोच बोकेर आएको छ ।

एउटा यस्तो क्रान्ति जसले सदभाव, सदाचार, मानवता र शान्तिको बाटोबाट सामाजिक परिवर्तनको लक्ष्य राख्छ । एउटा यस्तो सत्याग्रह, यस्तो सत्कार्यको सत्प्रेरणा जसले मानव मनका तह तहमा जमेका फोहरमैला पखाल्नेछ । एउटा यस्तो धागो जसले सबैलाई एकताको सुत्रमा बाँध्नेछ । उसले यस्तै क्रान्तिको सोच लिएर आएको छ । एउटा सामन्त ढाल्न बन्दुक नै चाहिन्छ र ? सबै गाउँले एक भए पुग्छ ।

हो, एकता आजको पहिलो चुनौति हो । उसको योजना अनुसार गाउँमा सबैजना संगठित हुनेछन । केटाकेटीको समूहले बालविवाह, लैङ्गिक विभेद, बालश्रम शोषण आदिका विरुद्ध लड्ने छ भने यूवाहरुको समूहले रक्सी, चुरोट ,छुवाछुत, अन्धविश्वास, चेलिबेटि बेचबिखन आदिका विरुद्ध जेहाद छेड्नेछ । महिलाहरु सरसफाई, सहकारी ,प्रौढशिक्षा आदि अभियानहरु लिएर उठ्‌नेछन भने पुरुषहरुको समूहले गाउँका खानेपानी विधालय हेल्थपोष्ट सामुदायिक बन आदिका समस्याहरुलाई सम्बोधन गर्नेछ । विषेशगरी यूवाहरुमाथी उसको भरोषा छ ।

To be continued …………

 

Write a Comment

Comment

  1. कथा निकै राम्रो लाग्यो, आशा छ बाँकि भागहरु पनि चाँडै पढ्नपाइन्छ ।
    अनि मुल कुरो ले मन छोयो, यहाँ क्रान्ति को आवश्यकता छ तर यहाँ हल्ला गरिएजस्तो क्रान्ति हैन ।

  2. I agree with you. बर्षभरी श्रम र पसिना अन्तै बगाएर चाडबाडका बेला पाहुना लाग्न आउनेहरुको हैन, यहिंको ढुंगा माटो सँग रमाउनेहरुको खाँचो छ गाउँलाई । काल्पनिक स्वप्नराज्यको हौवा देखाएर भकारी र ढुकुटी लुट्नेहरुको हैन, केटाकेटीलाई डोराएर स्कुल र बुढाबुढीलाई बोकेर स्वाश्थ्यचौकी लैजानेहरुको खाँचो छ गाउँलाई ।

  3. Ali Dhangga puryaer lekhnu paryo ni! Je lekhe pni hunchha, kranti shabda ghusaudaima katha hunchha ki ke ho? Sahariya maiyaharule ke bujhchhau kranti bhaneko ke ho?