कतै जाम न !!
Posted on December 3rd, 2008 by Avinashi
कतै जाम न !!
जहाँ भर्खर दाईं गरिएका खलाहरुमा डांग्रेका चुच्चाले रहलपहल धान खोजिरहेका होलान् । त्यो बेंशी काटेर उकालो लागम् । मङसिरको मास; बाटामा जन्ती भेटिएलान् ,पलस टु बाट फर्केका केटाकेटी भेटिएलान, आलुको बिउ बोकेर झरेकी आमै भेटिएलिन्, सुन्तला बेच्न हिडेका बा भेटिएलान्, कतार मलेसियाबाट फर्केका दाइहरु भेटिएलान् । चौतारीमा बिसाउँदै बिसाउँदै सबैसँग सन्चोबिसन्चो सोद्दै हिडम्ला । तिमीले घरि घरि त्यहि हिमालतिर क्यामरा सोझ्याईराख्नपर्दैन। माथीबाट अझ राम्रो भ्यु देखिन्छ; एकसयअसी डिग्रीको पुरै रेन्ज । दैलै अगाडीको झलमल्ल हिमाललाइ क्यामरामा कैद गर्न मात्र हैन गर्ल्याम्म अङगालो हाल्न र निधारमा म्वाईं खान समेत पाउनेछौ । एउटा पुरै दिन तिमीले सुर्योदयदेखी सुर्यास्तसम्मै त्यो हिमाल र पहाडको बदलिदों तस्विर खिचौला माथी थुम्कोबाट। बिहानको प्रथम किरण देखी घामले बादलसँग लुकामारी खेल्दै वल्लो डाडाँ देखी पल्लो डाँडाँ सम्म फन्को मार्दा छिनछिनमा पहाडले बदल्ने रंग र लय तिमीलाई साँच्चै मनपर्ने छ । त्यतिन्जेल म मजाले घाममा निदाउनेछु अनि ब्युँझेपछि तिमीसँग किचकिच गरिरहनेछु “छिटो जाम्न” भन्दै, त्यतिबेला तिमी “एकछिन न” भन्दै ट्राइपड घुमाइरहौला।
म त चिसोले पेट ढाडिउन्जेल सुन्तला खानेछु । तिमी जति सुकै कराउ । तिमीले पनि त मैले भनेको बेलामा टोपी लगाउँछौं र ? तिम्लाई गुन्द्रुक भट्मासको झोलभन्दा बरु दालै मनपर्छ हैन ? मलाई दिक्क लाग्नेछ तिम्रा इनएक्टिभ टेस्टबडहरुदेखी । ठूलो स्टिलको ग्लासभरी बाक्लो न बाक्लो दुधको कडा चिया मैले मगाउँदा तिमीले सानो प्रोसेलिनको कपमा ब्ल्याक टि मगाउनेछौ ।मलाई रिसले तिम्रो कानै उखेलिदिउँ जस्तो लाग्नेछ, फेरी चिसोले रातो भएको तिम्रो कान छोएपछी मलाई पक्कै माया लाग्नेछ।
मैले साँझ बिहानै लोकल कुखुराको झोल र भुटन मगाउँदा तिमी लुकेर पर्स स्क्यान गर्नेछौ ।त्यो चाल पाएर मैले नारीवादी दर्शन छाँट्न थाल्नेछु ।“कत्तिन केटि मान्छेले पैसा तिर्नै नहुने जस्तो, Chauvinist” भन्दै कराउनेछु।तिमी ठुस्केर भित्र भान्साभित्र पसेर अगेनामा होटलसाहुनी दिदीसँग बात मार्न थाल्नेछौं ।अनि म पनि खुसुखुसु अगेनानेर घुस्रनेछु तिमीसँगै ढेस्सीदै । तिमी पर सर्न खोजौला। म झन् झन् नजिक नजिक टासिनेछु। भर्खरै बिहान नुहाएको मेरो कपालको ताजा बास्नालाई तिमी resist गर्न सक्नेछैनौ ।त्यतिबेला तिम्रो अनुहार लाजले गुलाबी होला।हा..हा, हेर्न लायकको होला। होटल साहुनी तिम्रो गुलाबी मुहारको छनक र मेरो चन्चल आखाँको सनक बुझेर दाउरा ल्याउने निहुँमा बाहिर निस्केलिन । चुलोभित्र दाउरा मिलाउने निहुँमा तिमी बिस्तारै मेरो औंला छुन खोजौला । मेरो पालो, म पनि “घाम ताप्छु” भन्दै बाहिर निस्कनेछु । कलिलो घामले पोतिएको मझेरी हुँदै म बाहिर गएको बाटो तिमी हेरिरहौला । मलाई त्यसरी हेर्दा तिम्रो अनुहारमा छचल्किएको त्यो भावलाई म अँखिझ्यालको प्वाल बाट हेर्नेछु। अनि तिमी मुस्कुराएको देख्दा म पनि मुस्कुराउनेछु ।
भर्खरैको ताजा परालले बुनेको गुन्द्रीमाथी पल्टदै म टमस हार्डीको “फार फर्म द म्याडीङ्ग क्राउड” पढ्नेछु ।त्यतिबेला तिमीले ईन्स्ट्यान्ट हाइकु लेख्नु र मलाई सुनाउनु । अनि म तिमीलाइ मेरो अनुहारको स्केच बनाउन भन्नेछु ।तिमीले “त्यसोभए मलाइ हेरेर बस न त” भनौला । मैले फेरि “तिम्रो मनभित्र मेरो कस्तो अनुहार देखिन्छ, त्यस्तै बनाउ” भन्नेछु । तिमीले नाक बाङ्गो र ओठ बाक्लो भएको स्केच बनाउनेछौ । म रिसले आखाँ तर्नेछु । फेरि तिमीले आँखा छड्के भएको स्केच बनाउने छौ । मैले चित्त दुखाउने छु । तिमी जानी जानी मलाइ चिढाउनलाइ राम्रो स्केच बनाउने छैनौ ।तिमीले त्यसो गर्दा मलाइ तिमीसँग एकदमै रिस उठ्नेछ । र मैले तिमीलाइ धाराप्रवाह आरोप लगाउन थाल्नेछु “तिमीले मलाई कहिल्यै माया गरेनौ; कैलेकाही त मलाइ लाग्छ तिमी वास्तवमा कुनै सोलमेटको पर्खाइमा छौ र मसँग त खाली टाइमपास मात्र गरिराखेको छौ” त्यतिबेला तिमीले सधैको जस्तो एउटा सिल्ली मुस्कान दिनेछौ ।म झन् उग्र भएर “don’t crack that silly smile like a clown” भन्दै कराउनेछु ।त्यतिबेला तिमीलाइ मनमनै लाग्ला“यो केटि कति छुच्ची हो…योसँग बाँकी जिन्दगी कसरी बिताउने होला”। तिमीलाइ थाहा छ यस्तो बेलामा तिमी केहिपनि नबोलेको मलाइ मनपर्दैन । अनि म पिलपिल गर्न थाल्ने छु। मैले सुटुक्क आशुँ पुछेको तिमीले मेसो पाउने छैनौ । तिमी साँच्चै कति बुद्घु छौ । म जुरुक्क उठेर कोठामा चुकुल लगाएर सिरकले मुख छोपेर साक्क र सुक्क गर्न थाल्नेछु ।“एउटा राम्रो भ्याकेशन मनाउँ भन्ने सुरले बल्ल बल्ल आएको तेइपनि….” यस्तो सोच्दासोच्दै पुरै सिरानी भिज्ने छ ।यता तिमी बाहिर गुन्द्रीमै; बेखबर । स्वास्नीमान्छेको काँचको मन, ठट्टैमा फुटिहाल्छ ।तिमी धेरैजसो बुझ्दैनौ यस्तो कुरा । यता म बिनसित्तिमा आशुँ बगाइरहदा तिमीले मेरो सुन्दर स्केच बनाउने छौ र सुटुक्क खल्तीमा हाल्नेछौ ।कुनैबेला सरप्राइज दिनको लागि ।
यता म धेरैबेर रोइसक्दा पनि तिमी नआएपछि म आफैं आउनेछु र नजिक बस्नेछु । तिमीले सहज भावमा सोध्नेछौ “आज राती के खाने?” । म केहि बोल्नेछैन । फेरी एक्कासी मेरो दिमागमा एउटा आइडीया आउनेछ । अनि म भन्नेछु “एउटा कुरा भनम”
“भनन”
“आज नि….”
“अँ..”
“आज राती……”
“के ?”
“आज.. उ के…. केरे.. रक्सी खाम न”
रक्सी?
“तोङ्बा के..हुन्छ नि प्योरवाला…”
“हुँ…नखाने”
“प्लिज के..”
“वाइन स्वाइन पाइने भए त खान हुन्थ्यो…”
“ह्या गाउँमा आएर पनि के को वाइन..”
“होस …”
“खाम् न के.. पैसा मै तिर्छु”
तिमी हुँदैन भन्दै टाउको हल्लाउँनेछौ । म निराश हुँदै निधार खुम्चाउने छु ।
अनि अरु के के होला ?त्यो साँझ रक्सी खाइएला कि नखाइएला ? बाँकी सोच्ने काम तिम्रो ……..
December 3rd, 2008 at 2:07 pm
Great!
प्राकृतिक and Lovely!
December 4th, 2008 at 5:23 am
निक्कै मज्जा आयो, पढ्दा !
December 4th, 2008 at 11:51 am
You are rocking. Wish to be a protagonist of such a situation.
December 7th, 2008 at 11:03 pm
Awesome! Kasto ramailo read!
awwawwww manai na ho, maile ni yestai katai jana manlagyo !
December 8th, 2008 at 3:25 am
पहिले कतै जानु परेन भन्या ? मलाई त हिँडीसके जस्तै नलागेर न्यास्रो लाग्यो ।