विस्मित इजलास

Posted on December 15th, 2008 by Avinashi

“प्रत्युत्तर पत्रमा उल्लेख गरेको बाहेक छुट हुन गएको तपाईंको कुनै जिकिर छ कि?” भन्ने प्रश्न गर्दै न्यायधीशले राधिकाको मुखमा पुलुक्क हेर्छन् । गंभिर र भावुक मुद्रामा उभिएकी राधिकाको मुखबाट कुनै आवाज निस्केन, केवल अनुहार मात्र बोल्यो । मुखाकृतिको अध्धयन गर्नाले मात्र उनी भित्रको बेदना पूर्णरुपले बुझ्न नसकिएपनि त्यहाँ असजिलोपना भने प्रष्ट झल्किन्थ्यो । न्यायधीश रवाफीलो स्वरमा पून बोले “ईजलासमा नबोलेर न्याय पाईंदैन”
 राधिकाले पनि ओजीलो पारामा जवाफ दिईन् “मैले न्याय प्राप्तिको विश्वाश गरेकी पनि छैन”
  राधिकाको पेचिलो शब्दबाणले आहत भएका न्यायधीश विस्मित हुँदै कागजतर्फ हेरेर पढ्दै कानुनी प्रश्न गर्छन “म मेरो पतिको सतमा छु ।मेरो पेटमा छ महिनाको गर्भ छ ।कुनै परपुरुषसँग मेरो सम्पर्क भएको छैन ।मलाई कुल ईज्जत अनुसार खान लाउनको ब्यबश्था होस । म सम्बन्ध बिच्छ्द गर्न चाहन्न ।” भन्ने प्रत्युत्तर पत्र तपाईंको हैन?
“मेरो त होईन मेरा शुभेच्छुकहरुको हो।”
राधिकाको यो भनाईले न्यायधीशमा विस्मयता बढ्दै गयो र ट्वाल्ल परे।
मिसिल पेश गर्ने एकजना विचारी नाके स्वरमा बोले”यो आईमाईको त दिमाग ठीक छैन जस्तो छ श्रीमान “।
न्यायधीश विचारीसँग जंगिए “दिमाग ठीक छैन भन्ने हामीसँग के प्रमाण छ”
 ”इजलास मै यस्तो सिङ न पुच्छरको कुरा गरेपछि अरु के चाहियो र श्रीमान विचारी” ङिच्च हाँसेर कपाल कन्याए ।

न्यायधीश गंभीर भएर राधिका तर्फ हेर्छन ।राधिकाको शीर झुकेको भएपनि नूर गिरेको थिएन ।उनको भावपूर्ण अनुहारका तेजिला आखाँले घरि भुँई र घरि न्यायधीशको अनुहारलाई घोची रहेका थिए।उनका बाबु, दाजु र अन्य माईतीहरु ईजलासको बाहिर पट्टि थिए। इजलासको गतिविधीसँग बिचराहरु अनभिज्ञ थिए ।आफ्नै छोरी र बहिनीबाट उनीहरुको योजना भत्किरहेको कुरा उनीहरुलाई के अड्कल ?
छोटो समयको स्तब्धतालाई तोड्दै न्यायधीशले पून राधिकालाई कोट्याउने प्रयत्न गर्छन “तपाईंको प्रत्युत्तर पत्र झुट्ठा हो त?”
 केहि अन्कनाएर राधिका बोल्छिन “मेरो हित चिन्तकहरुले गर्न लगाएको कुरा म कसरी भनौं”
 ”तपाईंको श्रीमानसँग सहबास भएको छ कि छैन त?”
 ”छैन” राधिका निर्धक्क भन्छिन ।
“त्यसो भए तपाईंलाई वादीले लगाएको आरोपमा तपाईं सावित हुनुभयो ।यो मुद्दामा तपाईंको हार हुन्छ “”मेरो जीत हुदैन न्याय पाउँदिन त मैले अगाडी नै भनिसकेकी छु”
न्यायधीशको बल्ल बल्ल पलाएको तुजुकलाई राधिकाको जवाफले निस्तेज पारिदियो ।न्यायधीश पून सोच मग्न भए ।उनलाई यो घटना अभुतपुर्व लाग्यो ।आजसम्मको सबभन्दा असजिलोपना यसैलाई ठाने।प्रतिवादीले वादीकै पक्षमा न्याय मागेको र प्रत्युत्तर पत्रमा एउटा कुरा अनि मुखले अर्को कुरा माग्ने झगडिया न उनले कहिल्यै भेटेका थिएनन् ,न त यस्तो होला भन्ने सोचाई नै थियो ।उनले पढेको कानुन र न्याय शास्त्रमा यस्तो कुरा उल्लेख पनि थिएन ।उनको इजलासमा यस्तो खालको झगडिया उभिएकै थिएन।जे होस कानुनको सम्राट हो, सधैं कागज प्रमाणको घोडामा सवार गर्छ । लिखितमका अगाडी बकितमको के अर्थ? प्रत्युत्तरपत्रमै लेखिएको कुरा सत्य मान्नुपर्छ।कानुनले न्याय नगरेपनि फैसला त गर्नै पर्छ ।यस्तै सोचाईले गर्दा न्यायधीशको असमन्जस्यताको स्थितीमा केहि परिवर्तन आयो र फेरि राधिकाको अनुहारतर्फ हँसिलो दृष्टी फैलाएर सोध्छन:
‘खैर जे सुकै होस, एउटा कुरो भन्नुस, तपाईंको पेटमा भएको गर्भ कस्को हो?”
“मेरो पेटको गर्भ अरु कसैको हुनै सक्तैन।त्यो मेरो हो।आफ्नो पेट भित्रको बस्तुपनि अरु कसैको हुन सक्छ र?”


राधिकाको यो अभिब्यक्तिले न्यायधीशको सिस्मयतामा झन् वृद्धि भयो ।”विचारीले भनेझै‌ दिमागै ठीक नभएको त हैन राधिकाको?” भन्ने सोचाइ पनि आयो ।अलपत्र परेका न्यायधीशलाई देखेर राधीकाले आफ्नो भनाईलाई पुष्टि गर्दै, रुन्चे तर विद्रोहको स्वरमा बोलिन:

“सुन्नुहोस श्रीमान् न्याधीशज्यु , नारी उर्वरा भुमि हो । आकाशबाट कुनै चराले एउटा दाना खसालीदिए पनि धरतीले त्यसलाई उमार्छिन् नै, विचरी धरतीलाई के थाहा उस्को छातीमा विउ राखीदिने कुन पुरुषत्व हो? आवश्यकता नै किन त्यस्को जानकारी लिन?कुन कुखुरीको भालेले मद्दत गरेको छ चल्ला काढ्न र हुर्काउन? कुन चराको अदालतमा संबन्ध बिच्छेद र अंशका मुद्दा छन र? मान्छे झन् जेठो चेतन प्राणी भएर पनि मुद्दा मामिला किन?चेतनाको उपज के झगडा हो ?  विन्ती लागोस श्रीमान !म भित्रको भ्रुण जन्माएर हुर्काउने मेरो जिम्मेवारी हो । धरतीमा जन्मेको हरेक प्राणीले धरती भोग्न पाउँछ । म बाट जन्मनेलाई पनि त्यो अधिकार हुनुपर्छ ।तपाईंको इजलासमा मैले आशा गर्ने कुरा यही मात्र हो । तपाईं असमर्थ हुनुहुन्छ भने मेरो के लाग्छ र ?तपाईंको कुर्सीको दायित्व भित्र मेरो जिकीर नछिर्न सक्छ ।मेरो कुरा त त्यही हो श्रीमान !”

 दर्शन शास्त्रको प्रवचन सुन्दासुन्दै संम्मोहित भएको श्रोता झैं न्यायधीश त जिल्ल परेर लठ्ठिए । आफ्नो अगाडी उभिएकी एउटी झगडिया नारीलाई त दर्शनशास्त्रको पुस्तक जस्तै देख्न थाले ।न्यायधीशमा अब एएटा नयाँ बिचार फुरेर आयो ।जागिर सागिर छोडेर राधिकाको अंग प्रत्यंग केलाएर अध्ययन गरौं जस्तो लाग्यो ।गाउँले पाराको सारी ब्लाउज लगाएको चौबिस वर्षिय एउटी केटी राधिकाको अनुहारमा दिब्य ज्योति देखे न्यायधीशले । उनी तिल्मीलाए ।

कैलेकाही कुनै ठाउँमा घट्ने सानातिना घटनाहरुले ईतिहासका घुम्तिहरु बदलिन्छन ।मानिसहरुका मान्यताका पर्खालहरु ढल्छन भन्ने कुरा न्यायधीशले कतै पढेका थिए ।आज उनलाई त्यसको स्मृति भयो । एउटा सामाजिक मान्यता बोकेर एकोहोरो सोचाईमा बगिरहेको न्यायधीशको मानसपटल आज अनायस रोकिन पुग्यो ।उनको मान्यता तिरमिर तिरमिर भएर रुमल्लियो ।उनको इजलासमा कुनै झगडिया सावित हुदैनथ्यो । आफ्नै प्रतिकुल न्याय माग्दैनथ्यो । सबै झगडीयाहरु आ-आफ्ना दावीलाई पुष्टि गर्ने सबुद तेर्साएर अडिग हुन्थे। ।उनीहरुको यस्तो हुनुले पो न्यायधीशको कुर्सीको मर्यादा थियो ।आज सबै राधिकाले खल्बलाईदिईन ।उनी घोरिएको घोरियै भए ।उनको अनुहार देखेर राधिकालाई टीठ लागेर आयो । फैसलाको कुरालाई परै छोडेर राधिकाबाट अझै केही खोतल्ने रहर भने न्यायधीशमा मरेको थिएन ।इजलास भन्दा बाहिर घर वा डेरामा कुरा गर्नु बेश होला भन्ने सोच आयो तर फेरि  झगडियासँग घरडेरामा कुरा गर्दा उल्टै अवगाल आउनसक्ने कुराले उन्लाई झस्कायो ।
ठूलो साहसले उनले राधिका तर्फ हेरे र मुख फोरे “मलाई न्यायधीश नसम्झि एउटा मान्छेमात्र ठानेर भन्नुहोस न त तपाईंका कुरा,” राधिकाले ठानिन्, कुनै अर्थ ननिस्कने ठाउँमा विगतलाई कोट्याएर किन समय खेर फाल्नु ? तर न्यायधीशको विवेकशिलतालाई नकार्न नसकेर राधिका भन्छिन “मेरो निको नहुने घाउलाइ कोट्याएर पीप बग्न नसकेको रापिएको रगतलाइ छताछुल्ल पार्नुमा के अर्थ होला र श्रीमान ?भो छाड्नुहोस तपाईंको जिरह”
आफ्नो कतुहलता जगाउँदै न्यायधीश भन्छन “रहस्यलाई उदांग हेर्न चाहनु मानविय स्वभाव हो ।यो कुर्सी बाट मैले तपाईंका चाहना पुरा गर्न नसकेपनि बाहिरबाट केहि गर्न सक्छु कि?कृपया मलाइ विस्मीत अवश्थामा नछाडी दिनुहोस न”
प्रकृतिजन्य मान्छे जस्तो भएर न्यायधीश पनि यथार्थमा उत्रन खोजेजस्तो लागेर राधिका भन्दै जान्छिन “तपाईंको जिज्ञाशालाई तृप्तिनै चाहियो भने सुन्नुहोस मेरो विगत ।उत्तेजित र अझ अधैर्य नबन्नुहोला । ”

“म छेउघरे पण्डित चण्डी प्रसादकी कान्छी छोरी हुँ ।दाजुहरुले पनि मौकैमा शिक्षा पाएकोले मैले पनि धेरै थोरै अशिक्षित बस्नु परेन। बीस वर्षकै उमेरमा मेरो विवाह नारायण प्रसाद चापागाईंसँग वैदिक विधी अनुसार सम्पन्न भयो ।विवाह भएदेखी नै  मेरा पति सुब्बा जागिर खाएर धुलिखेलमा बसे । विवाह भएदेखी नै मेरा पति सुब्बा जागिर खाएर धुलिखेलमा बसे ।घरमा सासु ससुरा र बस्तुभाउको सेवा गर्नमा म लागें । दाईजो गर्दुवामा कुरा नमिलेर हो वा अन्तै अर्कै सुर भएर हो मेरा पति मसँग आकृष्ट भएनन ।यदाकदा घरमा आउँदा पनि मसँग बोलचाल गरेनन् ।१५ वर्षको उमेरदेखि पुरुष प्रति आकृष्ट हुन थालेकी मैले पुरुषको माया र न्यानो पाउन सकिन ।आफ्ना उमेरका दिदी बहिनीहरुले काखमा बच्चा तेर्साएको देख्दा मलाई पनि लोभ लाग्दथ्यो ।म मा पनि मातृत्व सल्बलाएको थियो ।तर जे भए पनि गाउँको परम्परा अनुसार एउटी आदर्श हिन्दु नारी भएर पति जपेर बस्नु नै पुण्य हो भन्ने ठानेर घरकाजमै रमाएकी थिएँ । म माथि कसैले षडयन्त्र गरे पनि मलाई कुनै पत्तो हुदैनथ्यो ।पोईला जाने सोचाई पनि बेला मौकामा आउँथ्यो तर त्यो घरका पाडा बाच्छाको मायाले रोक्दथ्यो । यति मीठा थिए ती बाच्छा बाच्छीहरु जस्लाई मैले चुम्बन गरेर आनन्द लिन्थें दुख भुल्थें ।

एक दिनको कुरा हो,म बेलुकीको खाना छिटै खाएर घर परतिरको गोठमा ढिकी जाँतोको काममा ब्यस्त थिएँ ।घरमा सासुससुराहरु निदाई सकेछन ।म सधैं सुत्ने कोठाको बिस्तारामा पुग्दा एउटा लोग्ने मान्छे सुतिरहेको पाएँ ।म निकै अप्ठेरोमा परें। आफ्नै पतिदेव पाल्नुभएछ कि  भन्ने ठानें, साँझमा एउटा २२/२५को यूवक सासुलाई फुपु भन्दै आएको थियो । उ पाहुनाकै रुपमा आएको थियो ।मैले राम्ररी चिन्दैनथें ।मैले उसंग परिचय पनि गरेकी थिइन ।उसैलाई मेरो कोठामा सासुले किन सुताईन होला र भन्ने पनि सोचें ।बत्ती बाल्ने तुरुन्त उपाय थिएन ।अन्त गएर सुत्ने राम्रो प्रबन्ध नहुँदा म अलमलमा परें । त्यसैबेला त्यो मानिस सलबलायो ।
मैले बिस्तारै सोधें “को हो?”
  उसले पनि मसिनो स्वरमा भन्यो “म हो”
  मेरो चुराको आवाजले उ लोभिएछ ।पुरुषको गन्धले मलाई सिरीङ्ग पार्यो ।मैले ठानें “आफ्नै पति बाहेक कसले साहस गर्यो होला र मेरो कोठामा आउन”।मेरो मातृत्व थोरै लोभियो ।लिप्सालाई त म दबाउन सक्थें ।म खाटको नजिकै गएर चाल बुझ्न खोजें ।उस्ले मलाई हातमा छोएर बस्ने स‍ंकेत गर्यो । म पनि नजिकै थपक्क बस्न पुगेछु । उस्को स्पर्श कडा हुँदै गयो ।म पनि टास्सिन पुगेछु ।एउटा अनुभूतिको संभाब्यताले मलाई मैले भुलेछु ।मलाई कता गई के गरी भन्ने कोही थिएन । त्यसैले पनि म निर्भय भएँ। अँध्यारो कोठामा उस्ले मलाई निर्लज्ज बनाउन खोज्यो । मैले पनि जिवजन्य ब्यबहार गरें ।हामी दुवै माथि वासनाले शासन गर्यो।सामाजिक विवेक लुकीदियो तर जीवजन्य विवेकले स्याबासी दियो । उ मेरो पति थिएन मैले थाहा पाएँ । हाम्रो आवेग मत्थरिएपछि म झल्यास्स भएँ । म ऊबाट अलिक पर हटें।उस्ले सलाई कोरेर चुरोट सल्कायो ।सलाईको उज्यालोमा उस्लाई मैले अति राम्रो देखें ।उ त्यसदिन आएको पाहुना थियो ।उसले मेरो चेहरामा पुलुक्क हेरेर अलि नमुस्कुराउँदै सलाईको उज्यालो सकियो । अब मलाई भयले सतायो।बोल्न हुने भएन । त्यहाँबाट बाहिर निस्कें । रातको साढे एघार बजेको हुँदो हो ।मलाई सामाजिक भयले कमायो । म लुक्न खोजें ।आत्महत्या पनि सोचें तर के के ले मलाई ढिकी नजिकै पुरायो ।त्यहाँ एउटा गुन्द्री थियो ।त्यसैमा रात काटें ।

बिहान उठेर सधैं झैं गोठ धन्दा गर्दासम्म त्यो यूवक निस्केको थिएन । म घाँसदाउराको लागि वनतर्फ लागें ।मेरो मनमा अनेक तर्कना भए पनि शरीरमा स्फुर्ति थियो ।दशबजे तिर घरमा आउँदा घरमा पाहुना थिएन ।त्यसैबेला देखि मेरो महिनावारी रोकियो ।चार महिनापछि मेरो पेट नै ठुलो देखियो ।सासुससुराले अब तँ माईत जा भने । मैले बचन शिरोधार्य गरें ।अज्ञात पुरुषसँग संसर्ग गरी गर्भ समेत धारण गरी सकेकीले संबन्ध विच्छेद गरी पाउँ भनी मेरो श्रीमानले मुद्दा दिएछन ।मेरा दाजु बुवाले लोग्नेकै गर्भ हो भनेर प्रत्युत्तर दिनु पर्छ भन्ने दवाब दिए ।मैले ल्याप्चे र हस्ताक्षर दुवै गरें ।कुरा यही हो श्रीमान । न्यायधीशले ट्वालट्वाल्ती हेरिरहे ।

(This story is written by my Buwa, J.P Paudel,some 25 years ago…And I am missing him alot,while celebrating my 22nd birthday)

7 Responses

  1. Achyut Ghimire Says:

    The story is very good. Malai mann paryo Avinashi. Ma Shruti Sambeg ko Tuesday episode ma recite garna chahanchhu, dine ho yo story ?

  2. Avinashi Says:

    Bhaihalchha ni Achyutji…tyo ta mero lagi thulo soubhagya hunechha

  3. Basanta Says:

    The story is very good and it appers very revolutionary for the time it was written.

  4. Arjun Says:

    नारी सम्बेदनाको र सामाजिक बन्धनको मर्मस्पर्शी चित्रण!

    Achyutजि,Great if u can present. Good Luck!

  5. toya Ghimire Says:

    One of the great stories that I’ve read.
    Toya

  6. someuser Says:

    this story was good. I came to this site after i listened it on shruti sambeg. I thing to comment about shruti sambeg, the background music is very uneasy to listen and very disturbin. Moreove the songs are all hindi and very loud. Achyut gi can you rectify that. I am a regular listener of the program

  7. Madhav Says:

    Is it finished? I want to know the decision of judge.
    Fantastic….

Leave a Comment

Please note: Comment moderation is enabled and may delay your comment. There is no need to resubmit your comment.

Posted in Acknowledgements, stories |

Archives

Categories

Blogroll