in stories

एउटा विभत्स कथा

I wrote this story in 2060 B.S.,when the armed conflict was at its climax. It’s my first and only published story in Nepali .It was published in a local magazine of my hometown.I was seventeen when I wrote it. When I read it now, I feel a sort of humiliation, I was so radicle and fanatic tetibela…But I feel it close to my heart.Some scholar has said, if you want to write good, go through humiliation as much as you can , the more you feel humuliated , more you can catch up with your true creativity.so, I read it time and again,again and again, undergo more and more humiliation, so that I reckon my mistakes, mistakes of instinct and frailty of crativity…….And whoever read it, Please share me what sort of humiliation you feel .

एकादेशमा….. सायद, कथा यसरी नै सुरु गरिन्छ क्यारे! म पनि यसरी नै सुरु गर्छु । तर पनि मलाई थाहा छैन यो कथाको वास्तविक सुरुवात कसले,किन र कसरी गर्यो । यो कथा मेरो हो अनि हाम्रो हो ।सर्वप्रथम यो कथाको परिवेश तर्फ लागौं । यो कथा बाँचेको परिवेश पनि यो कथा जत्तिकै विभत्स थियो ।

त्यतिबेला न्यूयोर्क र वासिङ्टन डी सी का गगनचुम्बी भवनमात्र होईनन् ईराकी शासकका बगदादस्थित बंकर र शालीकहरु पनि ढलेका थिए । बुशहरु, लादेनहरु र हुसैनहरु त्यो यूगका चालकहरु थिए । त्यतिबेला अफगानिस्तानहरु लथालिङ्ग थिए , ईराकहरु भताभुङ्ग थिए । इजरायल र प्यालेष्टाईनहरु जुद्धै थिए,  भारत र पाकिस्तानहरु बाझ्दै थिए । अब फेरि यो कथाको पृष्ठभूमीतिर जाउँ ।

पृथ्वीको पूर्वीय पाटोमा, विशाल हिमवतखण्डको  मुटुमा एउटा सानो संसार थियो । यति,काँडे भ्याकुर, चेपाङ्ग र सतार देखी म/हामी सबैलाई बास दिने त्यो सानो संसार विश्व मानचित्रमा गुन्द्री झैं पसारिएको थियो । त्यो प्यारो देशले हामीलाई सहनशिल हुन सिकाएको थियो । देशका शासकको वंश नै सखाप हुँदा होस् या संविधानकै बलात्कार हुँदा होस् , महँगीले आकाश छुँदा होस् या भ्रष्टाचारले सिमा नाघ्दा होस्  , हामी चुपचाप लुरुलुरु अर्मपर्म , मेलापात धाईरहन्थ्यौं । देशभरी जताततै घाउ नै घाउहरु थिए, ती घाउहरु राजनैतिक अस्थिरताका , मेलम्चीका, कृष्णभिरका खुदुनावारीका, कालापानीका ,लक्ष्मणपुरका अनि सारा कर्णालीका घाउहरु थिए । मानेभन्ज्याङ्ग देखी चाँदनी दोधारासम्म महसुस गर्न सकिन्थ्यो त्यो घाउको पिडा । त्यो माथी पनि त्यहाँ एउटा याम आएको थियो ; सामरिक विभीषिकाको याम । त्यतिबेला त्यहाँ इजिप्टको पिरामिड जस्तै कंकालको सगरमाथा थियो । त्यहाँ आँशुको मेची बग्थ्यो , रगतको महाकाली बग्थ्यो । अब म मेरो आफ्नो मुल कथा सुरु गर्छु ।

त्यहि देशमा, त्यही यूगमा, त्यही याममा म पनि थिएँ ।  त्यतिबेलाको बारुदी हावा फोक्सोमा भर्नेहरु सबै मेरा आफ्नाहरु थिए; कोही पनि शत्रु थिएनन् , कोही पनि पराई थिएनन् । त्यतिखेर मेरा खसम फौजमा पसेका थिए । जानेबेलामा उनले भनेका थिए “देशका लागि लड्न जान्छु” । त्यतिखेरै मेरा देवर पनि जंगल पसेका थिए जानेबेलामा उनले भनेका थिए “जनताका लागि लड्न जान्छु” । मैले कुरो बुझिन देश र जनतामा के फरक थियो । एकदिन एउटा कथित कुरुक्षेत्रमा उनिहरुका टाउकाविहिन शरीरहरु अंकमाल गरी भातृमिलनोत्सव मनाउँदै थिए । त्यो हृदयविदारक दृश्यले मेरा ससुरा हृदयाघातका शिकार भएका थिए अनि मेरी सासु बहुलाएकी थिइन । मेरी किशोरी नन्दलाई खै को को ले टुक्रो नराखी चोक्टा चोक्टा लुछेका थिए ।

मेरा शिक्षक दाजुलाई पढाउँदा पढाउँदै कक्षाकोठाबाट बाहिर निकालेर झुण्डाईदिएका थिए । मेरो विधार्थी भाईलाई गिरफ्तार गरी बेपत्ता पारेका थिए । मेरा समाजसेवी बा लाई आफ्नै आँगनमा गोली हानेका थिए । आलो सिंदुरसँगै सुहागरातको एउटा चुम्बन साट्न पनि नभ्याउँदै मेरी बहिनीका लोग्नेलाई तल खोल्सामा झारेर ढुंगाले टाउको थिचिदिएका थिए अनि आवेगमा मेरी बहिनीले पासो लगाएकी थिई । मेरा भिनाजु आफैले थापेको एम्बुसमा परेका थिए । कर्फ्युको क्रुरताले प्रसव वेदनाले छट्पटाएकी मेरी दिदीले चोला त्यागेकी थिइन् । नेपाल बन्दको निष्ठुरताले दमले च्यापेका मेरा हजुरबाले जुनी फेरेका थिए । मेरा धेरै भतिजा भतिजीहरुलाई स्कुलबाटै अपहरण गरी लगेका थिए । मेरा धेरै भदाभदैहरुलाई सोधपुछका लागि लगेका थिए । मेरा धेरै मामाका छोराहरु विदेशतिर पलायन भएका थिए । मेरा धेरै फूपूका छोराहरु सशस्त्र प्रहरीमा भर्ती भएका थिए; ती मध्ये कति फर्के कति फर्केनन् लेखाजोखा नै भएन् ।

यसै बिचमा कहिले बन्दुक बिसाएर कुरा गर्ने भन्थे अनि फेरि लडिहाल्थे । सहरतिरका ठूला मान्छेका छोराछोरीहरु न्युजिल्यान्डतिर पढ्न जान्थे, जंगलतिरका ठूला मान्छेका छोराछोरीहरु लण्डनतिर बसेर पढ्थे । हाम्रो गाउँको पाठशालामा त माष्टर नै आउँदैनथे । टेष्ट परिक्षामा स्कुल टप गरेको मेरो ठूलीआमाको छोरोले सदरमुकाममा बस्ने ठाउँको अभावले एस एल सी परीक्षा दिन पाएको थिएन । दशैं आउँथ्यो तिहार आउँथ्यो तर हाम्रा घरमा कोही पनि फर्केर आउँदैनथे । कहिले फेरी सरकारी मान्छे आउँथे र मलाई भन्थे “तिम्रो पोई देशका लागि मर्यो तिमीले क्षतिपुर्ती पाउँछ्यौ” । उनको तात्तातो रगतको बली चढाएको मुल्यले तैपनि मेरो चुलो बलिहाल्छ कि भनेर दिनभरीको घाममा टट्टीएर म कुरीरहन्थें । फेरि जंगलतिरका मान्छे आएर मेरी देउरानीलाई भन्थे “तिम्रो पोई जनताको  लागी मर्यो तिमी कमजोर भएर शत्रुको सामु आशुँ नझार्नु” अनि मेरा मरेका देवरको सपना साकार पार्ने भन्दै मेरी देउरानीलाई एउटा आधारातमा घिसार्दै जंगलतिर लगेका थिए । पछि सुनें उनी पनि अरु झैं जाँघे लगाएर बन्दुक बोकेर हिडथिन् रे ।

त्यतिबेला म हलो जोत्थें, छानो छाउँथे । पेटमा अर्को जिवन बोकेर अनि आशुँ पसिना सिङ्गान र रगतका धारा चुहाई म उकाली ओराली धाईरहन्थें । मसँग खाली अभाव पीडा र दुख हुन्थ्यो ।यस्तैमा एकदिन एक हुल मान्छेहरु जंगलतिरबाट आएर जबर्जस्ती मेरो माईतीको पेवा एउटा खशी काटेर भकारीभरीको चामलको भात पकाएर खाएर गए ।अर्को दिन् सेनाका मान्छेहरु आएर घरको खानतलासी गरे मलाई केरकार गरे अनि फेरि अघिल्लो रातका मान्छेहरु आएको थाहा पाए भने मलाई थुन्न लैजाने धम्की दिएर गए । अर्को रात जंगलतिरका मान्छेहरु आएर मलाई सेनालाई खबर गरिस् भनेर लाछलुछ गरी लात्तैलात्ता बर्षाए , छताछुल्ल रगतसँगै मैले थाहा पाएँ मेरो गर्भ तुहियो त्यत्तिकैमा कताबाट सेनाहरु आए अनि त्यहाँ दोहोरो भिडन्त चल्यो । म घिसारिदैं त्यँहाबाट भागें । भिडन्तको गोलीले मेरो घरको छानो उड्यो, गारो भत्क्यो अनि घर ढल्यो । म धनसारपट्टी सरें । बारीमा भेटीएको ग्रीनेटलाई खेलौना सम्झी खेलाउँदा मेरी छ वर्षकी छोरी भुण्टी मरी । मेरो भकारी रित्तियो । मालपोतको कागजसँगै मेरा फोगोटाहरु पनि खरानी भए । कृषि विकास बैंक सँगै मेरा गरगहनाहरु पनि लुटिए । अनि मेरी तेह्र वर्षकी छोरी सुन्तलीपनि एउटा रिकुटेसँग भागी ; खै गलैंचा कारखानामा पुगी कि बम्बई पुगी । मेरो ११ वर्षको चुरोट तान्ने छोरो हर्के पनि सहरतिर लाग्यो; प्लाष्टिक खोज्ने बन्यो कित भाँडा माझ्ने बन्यो ।

अनि त्यहाँ फगत एउटी म मात्र रहिरहें । त्यो याम फेरियो फेरीएन थाहा भएन , त्यो यूग सकियो सकिएन थाहा भएन तर म रहिरहें त्यो विभत्स कथाकी जीवन्त पात्र बनेर ।

Write a Comment

Comment

  1. At 17, I could have never thought that so many tragedies could have taken place in one person’s life :)

  2. कथा बढीनै नाटकीय र घटनाक्रमहरुले चाहिनेभन्दा बढी खाँदिएको पक्कै हो। तर नेपालको तत्कालीन परिवेशको सटीक चित्रण भने यहि हो। एउटा नीरिह साक्षीको रुपमा मात्रै आफूलाई पेश गरिएको छ र त्यस्तो radical र fanatic त केहि पनि देखिएको छैन।

    “—त्यो याम फेरियो फेरीएन थाहा भएन , त्यो यूग सकियो सकिएन थाहा भएन—”
    यो चाहिँ अझै थाहा भईसकेको छैन। कि कसो?

  3. =मैले कुरो बुझिन देश र जनतामा के फरक थियो=
    कथा दामी छ तर सुरुवात जस्तो अन्य भएन जस्तो लाग्यो । साह्रै छिटो अघि बढ्यो । हैन र ?

  4. Good going….
    I m eager to read some more “humiliating ” reflection..so that I can strive for perfection better

  5. looks like a draft copy. But as you said the story was written at your 17, this is a good story by a teenager.